21 Aug 2019   |   
logo
स्थानीय तह

स्वास्थ्य सेवामा बकैयाको योजना रगत, प्रसुती सेवा, एम्बुलेन्समा प्रोत्साहन



स्थानीय तह   26 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले गाउँपालिकावासीको स्वास्थ्य उपचारको क्रममा रगत, प्रसुती र एम्बुलेन्समा प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । निशूल्क वितरण गर्नुपर्ने औषधी गाउँपालिकाका स्वास्थ्य संस्थामा पर्याप्त वितरण गरेको छ । उपचारको क्रममा रगत चढाउनुपर्ने भएमा आवश्यक रगत खरिद गर्न लाग्ने खर्च व्यहोर्ने भएको छ । चालु आर्थिक वर्षदेखि गाउँपालिकाले यस्तो योजना ल्याएको हो । यो योजनाबाट प्रसुती तथा दुर्घटनाका क्रममा घाइते भएका व्यक्ति लाभान्वित हुनेछन् । गाउँवासीले गम्भीर अवस्थामा आर्थिक अभावकै कारण रगत खरिद गर्न नसकी ज्यान गुमाउन नपरोस् भनी यस्तो योजना ल्याएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताउनुुभयो ।



एक प्रिन्ट रगतको ८ सय ५० रुपैयाँ मूल्य रहेको छ । स्वास्थ्य उपचारको क्रममा रगत चढाउनुपर्ने अवस्थामा रक्तसञ्चार केन्द्रबाट रगत खरिद गर्न सकिन्छ । नेपाल रेडक्रस सोसाइटीले देशैभर रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ । रक्तसञ्चार केन्द्रले दाताबाट संकलन गरेको रगतको परीक्षण गरी रगतबाट सर्ने रोगका जीवाणु छ छैन भनेर थाहा पाउन परीक्षण गर्ने गर्दछ । त्यही परीक्षण शूल्कवापत नै केन्द्रले ८ सय ५० रुपैयाँ लिने हो । यस्तै गाउँपालिकाले स्वास्थ्य संस्थामै शत्प्रतिशत प्रसुती गराउने उद्देश्यले स्वास्थ्य संस्थामा प्रसुती केन्द्र स्थापना गर्ने, एम्बुलेन्स सेवा लिएवापत प्रोत्साहन रकम दिने व्यवस्था गरेको छ । गत वर्षको तुलना स्वास्थ्य संस्थामै प्रसुती गराउने गर्भवतीको दर बढेको छ । गत वर्ष करिब ६३ प्रतिशत मात्रै स्वास्थ्य संस्थामा प्रसुती गराउने गरिएकोमा अहिले करिब ७० प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामै प्रसुती सेवा लिएको बकैया गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले जानकारी दिनुभयो । गाउँपालिकाका १२ वटा वडा मध्ये ८ वटा वडामा स्वास्थ्य केन्द्र सञ्चालमा रहेको र ती मध्ये ६ वटा वडामा प्रसुती केन्द्र सञ्चालनमा रहेका छन् । गाउँपालिकाले साउन महिनाभित्रै थप बाँकी दुई स्वास्थ्य केन्द्रमा पनि प्रसुती केन्द्र स्थापना गर्ने स्वास्थ्य संयोजक प्याकुरेलको भनाइ छ ।

बकैया गाउँपालिकाको १ नम्बर वडा महादेवडाँडा, २ नम्बर वडाको धियाँल, ३ नम्बर वडाको हात्तिसुँडे, ४ नम्बर वडाको छतिवन, ६ नम्बर वडाको जुरेली, ९ नम्बर वडाको शिखरपुर, १० नम्बर वडाको मन्थली र १२ नम्बर वडाको ठिंगनमा स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन् । महादेवडाँडा र जुनेलीवस्तीस्थित स्वास्थ्य केन्द्रमा साउन महिनाभित्रै प्रसुती केन्द्र सञ्चालनमा ल्याइने बताइएको छ । प्रसुती केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री खरिद गरेर गाउँपालिकामा आइसकेको स्वास्थ्य संयोजक प्याकुरेलले बताउनुभयो । प्रसुती सेवा लिनका लागि गाउँकै स्वास्थ्य संस्थासम्म जान एम्बुलेन्स सेवा लिएवापत एक हजार पाँच सय रुपैयाँ प्रोत्साहन रकम दिन शुरु गरेको छ । गाउँको स्वास्थ्य संस्थामा सम्भव नभई अन्यत्र जानुपर्ने भए गाउँपालिकाले दुई हजार रुपैयाँसम्म एम्बुलेन्स खर्च दिने व्यवस्था गरेको छ । नियमित गर्भपरीक्षण गराएर स्वास्थ्य संस्थामै प्रसुती सेवा लिए संघीय सरकारले पनि २ हजार ८ सय रुपैयाँ प्रोत्साहन रकम दिने गरेको छ । बकैया गाउँपालिकामा हरेक वर्ष ३ सय ५० भन्दा बढी महिलाले प्रसुती हुने गरेका छन् । नेपाल सरकारले निशूल्क उपलब्ध गराउने औषधी गाउँका सबै स्वास्थ्य संस्थामा पर्याप्त उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7367272 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top