14 Oct 2019   |   
logo
शिक्षा

समुदायले स्वामित्व लिए विद्यालय राम्रो



शिक्षा   49 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २९ आइतवार  
हेटौंडाः समुदायले स्वामित्व लिए विद्यालय सुधार हुने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बताउनुभएको छ । शनिबार मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सहभागी हुनु भएका मन्त्री पोखरेलले समुदायले स्वामित्व लिएका, प्रधानाध्यापकको कुशल नेतृत्व र सहयोगी शिक्षक भए सामुदायिक विद्यालय सुधार हुने बताउनुभएको हो ।



विकसित मुलुकमा प्रधानमन्त्रीको छोरा र प्रधानमन्त्रीका सवारी चालकका छोरा एउटै सामुदायिक विद्यालय अध्ययन गर्ने बताउनुहुँदै मन्त्री पोखरेलले समाजको वर्गलाई अन्त्य गर्दै राष्ट्रलाई एकीकरण गर्ने साधन नै शिक्षा भएको उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले राष्ट्रलाई बलियो बनाउने साधन पनि शिक्षा नै भएको दावी गर्नुभयो । विद्यालयलाई राजनीतिक क्रिडास्थल नभई पठनपाठनको केन्द्रको रुपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो । भूकम्पले समग्रमा क्षति पुर्याए पनि विद्यालयको भौतिक पूर्वाधार पुनर्निर्माणमा उल्लेखनीय उपलब्धी हासिल भएको भन्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘राजनीतिक आन्दोलनका क्रममा सबैले मिलेर शिक्षालाई नागरिकको मौलिक हक हो भनेर स्थापित गर्न सफल भयौं । अब गुणात्मक शिक्षा, सिकाई प्राप्त गर्ने गरी विद्यालयलाई पठनपाठनको केन्द्र, शैक्षिक रुपान्तरणको केन्द्रको रुपमा स्थापित गरिनुपर्छ ।’ विद्यालयलाई सिकाई केन्द्रित बनाउनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले विद्यालयमा विद्यार्थीका प्रतिभा प्रष्फुटन हुने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सामुदायिक शैक्षिक संस्थाहरु आलोचनाको केन्द्र बनेको बताउनुहुँदै मन्त्री पोखरेलले स्थानीय सरकारले विद्यालयको स्वामित्व ग्रहण गरेर सुधारको प्रयास गर्न सुझाव दिनुभयो । कालिका माविमा जापान सरकारको ऋण सहयोगमा ३ करोड ८१ लाख रुपैयाँ लागतमा ६-६ कोठे २ वटा शैक्षिक भवन, एउटा प्रयोगशाला र एउटा शौचालय निर्माण गरिएको हो । भवन हस्तान्तरण  कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, प्रतिनिधि सभा सदस्य विरोध खतिवडा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानको पनि उपस्थिति रहेको थियो ।

यसैबीच हेटौंडा–१६ हटियास्थित जनप्रिय माविको नवनिर्मित विद्यालय भवन शनिबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई विद्यालय हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मन्त्री पोखरेलले जनप्रिय माविको भवनको कार्यमा १० करोड खर्च भैसकेको जानकारी गाराउनुहुँदै भवनले मात्र शैक्षिक गुणस्तर कायम नहुने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुलाई विज्ञान र प्रविधिमा ढाली शिक्षाका क्रान्ति गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षकहरु अपग्रेड भई पुरानो जिम्मेवारी हस्तान्तरण मात्र नभएर नयाँ परिवर्तनहरू गर्न पनि आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईको सभाध्यक्षता भएको कार्यक्रममा ३ नम्बर प्रदेश सभा सदस्य मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमयेर मीनाकुमारी लामा लगायतको उपस्थिति रहको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14808627 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top